आफ्ना वरिष्ठ नेता भीमबहादुर तामाङको निधनप्रति नेपाली कांग्रेस दुखित, ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र कार्यालय बन्द राख्ने


 

काठमाडौ  –  नेपाली कांग्रेसले आफ्ना वरिष्ठ नेता भीमबहादुर तामाङको निधनप्रति दुःख व्यक्त गर्दै ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र कार्यालय बन्द राख्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले यसअवधिमा कुनै औपचारिक कार्यक्रम नगर्ने तथा १३ औं दिनको पूण्य तिथीका अवसरमा ७५ वटै जिल्लामा श्रद्धान्जलिसभा गर्ने निर्णय गरेको छ ।

 

तामाङको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । करिब ७८ वर्षीय नेता तामाङको हृदयघातका कारण निधन भएको जनाइएको छ । उनी नेपाली राजनीतिमा इमानदार र निष्ठावान नेताका रुपमा परिचित थिए ।

कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले नर्भिक अस्पताल परिसरमा उनको निधनको औपचारिक पुष्टी गरेका छन् । आज बिहान मर्निङ वाक बाट फर्किएका तामाङलाई स्वाँ स्वाँ बढेपछि अस्पताल ल्याइएको थियो । नर्भिक अस्पताल स्रोतका अनुसार तामाङलाई ८: ४५ मा अस्पताल ल्याइपुर्‍याउँदा  उनमा जीवनको कुनै लक्षण थिएन । उनलाई तुरुन्तै सीपीआर लगायतका विभिन्न चिकित्सकीय प्रत्रिया गर्दा समेत उनमा जीवनको लक्षण नदेखिएको अस्पतालले जनाएको छ ।


राणा शासन तथा निरंकुश राजतन्त्र विरुद्ध लामो संघर्ष गरेका तामाङले आफ्नो राजनीतिक जीवन स्वच्छ राख्न सफल भएका थिए । राजनीतिमा अन्तिम समयसम्म सक्रिय उनी पार्टी केन्द्रीय सदस्य थिए । पूर्व कानून मन्त्री समेत भएका तामाङ पछिल्लो कांग्रेस महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवासंगै सभापति पदमा प्रतिस्पर्धा समेत गरेका थिए ।


उनको निधनको खबरसंगै कांग्रेस सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ता, सुभेच्छक तथा आफन्तजनको नर्भिक अस्पताल पुगेका थिए ।


उनको १ छोरा र १ छोरी छन् । उनी ०५४ साल देखि वरिष्ठ अधिवक्ता तथा पूर्व सभासद् समेत रहेका राधेश्याम अधिकारीको घरमा बस्दै आएका थिए । गान्धीबाधी सोंचका तामाङ सादा जीवन बिताउँथे । उनी बीपीको समाजवादी चिन्तनबाट प्रेरित थिए । उनको शिक्षा दार्जिलिङमा भएको थियो ।


दोलखा स्थायी घर भएका तामाङ ००७ सालको क्रान्तिदेखि नै सक्रिय रहेर ०१७ मा प्रवास समेत गएका थिए । उनी प्रजातन्त्रका लडाईका क्रममा पटक पटक जेल समेत गएका थिए । उनको पूरा जीवान संघर्षमा बितेको थियो । उनी जनजाति समूदायबाट प्रखर व्यक्तित्वका रुपमा आफ्नो स्थान बनाएका थिए । उनको निधनप्रति कांग्रेस सभापति कोइरालाले गहिरो दुःख व्यक्त गरेका छन् । ‘उहाँले अपनाएको बाटो र सिद्धान्त सबैका लागि प्रेरणादायी छ,’ उनले भने ।


त्यस्तै, उपसभापति पौडेलले प्रखर व्यक्तित्व र अटल सिद्धान्तवादी नेताको निधन भएको दुःख व्यक्त गरे ।


तामाङको शवमा सभापति कोइरालाले पार्टीको झण्डा ओढाएका छन् । अन्तिम श्रद्धान्जलिका लागि तामाङको पार्थिव शरीरलाई सानेपा स्थित पार्टी कार्यालय लगिएको छ । उनको पार्थिव शरीरलाई अपरान्ह १२ बजेदेखि ४ बजेसम्म पार्टी कार्यालयमा राखिने आचार्यले जानकारी दिए । तामाङलाई अन्तिम श्रद्धान्जलि व्यक्त गर्न प्रधानमन्त्री बाबुराम भट्टराई सहित विभिन्न दलका नेताहरु सानेपा पुगेका छन् । 

 

– RSS