राष्ट्रपति रामवरण यादवले थपिएको सात दिनभित्र राजनीतिक दलहरुले राष्ट्रिय सहमतिको सरकार गठनबारे ठोस सहमति नजुटाए दलहरुसंगै आफु पनि विफल हुने चिन्ता व्यक्त गरेका छन्।
उनले संभव भएसम्म यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिन नभए अर्को सरकारमा सहमति जुटाउन दलहरुलाई आग्रह गरेका छन्।
सहमतीय सरकार बनाउन दिएको एक साताको म्याद गुज्रिएर फेरि अर्को साताको म्याद दिएको दुई दिनसम्म पनि ठोस प्रगति हुन नसकिरहेको बेला राष्ट्रपतिको पछिल्लो चिन्ता सार्वजनिक भएको हो।
शनिबार पोखरामा राष्ट्रिय एड्स सम्मेलनको उदघाटन पछि बोल्दै राष्ट्रपति यादवले लम्बिंदो राजनीतिक संकटको प्रसंङ्ग कोट्याएका थिए।
त्यस क्रममा उनले सहमतिका आधारमा वैशाखमा चुनाव गराउने सरकारको निर्णय स्मरण गराउँदै दलहरुलाई थपिएको सात दिनभित्र सहमतीय सरकार गठन गर्ने विषयमा जारी मतभेदहरुको अन्त्य गर्नु पर्नेमा जोड दिए।