दलहरुबीच अझै सहमति नभए मुलुककै बेइज्यत हुने राष्ट्रपति यादवको भनाई

 काठमाडौं  –  दलहरुबीच अझै सहमति नभए मुलुककै बेइज्यत हुने राष्ट्रपति रामवरण यादवले बताएका छन् । यादवले  बाँकी दुई दिनको समयसीमाभित्र सहमति गर्न अपील गरेका छन् ।


राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार बिहान भएको शीर्ष नेताहरुसँगको छलफलमा राष्ट्रपतिले सहमतिका लागि गम्भीर हुन आग्रह गरेको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए । ‘अझै सहमति नगरे लज्जा हुन्छ, मुलुककै बेइज्यत हुन्छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै खनालले संवाददाताहरुसित भने, ‘जसरी पनि सहमति गर्नुस् ।’


खनालले मंगलबार तीन बजे बसेर सवै विषयमा प्याकेजमै सहमति गर्ने जानकारी दिए ।


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले मंगलबार नै सहमति हुने विश्वास व्यक्त गरे ।


शीर्ष नेताहरुसँग राष्ट्रपतिले बिहान ९ बजेदेखि सवा घण्टा छलफल गरेका थिए ।

 

– RSS