पूर्वी जेरुसलम र पश्चिम किनारामा बस्ती विस्तार गर्ने इजरायली निर्णय शान्तिका लागि घातक हुने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पूर्वी जेरुसलम र पश्चिम किनारामा बस्ती विस्तार गर्ने इजरायली निर्णय शान्तिका लागि घातक हुने चेतावनी दिएका छन् । गत बिहिबार राष्ट्रसंघले प्यालेष्टाइनलाई राष्ट्रसंघको गैरसदस्य पर्यवेक्षक राष्ट्रको मान्यता दिएपछि आक्रोशित इजरायलले आफ्नो कब्जामा रहेको पूर्वी जेरुसेलम र पश्चिम किनारमा ३ हजार यहूदी वस्ती निर्माण गर्ने जनाएको थियो ।


महासचिव बानले इजरायलको कदमबाट पूर्वी जेरुसलममा बसोबास गर्ने प्यालेष्टाइनी जनता पश्चिमी किनाराबाट पूर्ण रुपमा अलग हुने भन्दै चिन्ता व्यक्त गरे । प्यालेष्टाइनी राष्ट्रपति मोहम्मद अब्बासले इजारायलले तत्काल बस्ती विस्तार रोकेर शान्ति वार्तामा फर्कन आग्रह गरेका छन् ।


यता मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर बेलायतले लण्डनस्थित र फ्रान्सले पेरिस स्थित इजरायली दूतहरुलाई छलफलका लागि बोलाएको छ । बेलायती परराष्ट्र अधिकारीहरुले इलरायलले आफ्नो योजना अगाडि बढाए कडा प्रतिक्रिया जनाउने बताएका छन् ।


अमेरिकाले पनि इजरायली कदमको आलोचना गरेको छ । यहूदी वस्ती विस्तार अभियानकै कारण सन् २०१० यता प्यालेष्टाइन र इजरायलबीच वार्ता हुन सकेको छैन् ।

 

–  एजेन्सी