काठमाडौं । सरकारले माओवादी लडाकु शिविर व्यवस्थापन समिति खारेज गर्ने निर्णय गरेको छ ।
सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय शिविर व्यवस्थापन कार्यालय पौष १ गतेदेखि र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय माघ १ गतेदेखि खारेज गर्ने निर्णय गरेको हो ।
त्यस्तै काठमाडौं उपत्यका भित्रका नगरपालिका र नगर उन्मुख गा.वि.स.हरुमा गरिने निर्माण सम्बन्धी मापदण्ड २०६४ संशोधन गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै वेलायतले दिने ५० करोड २१ लाख रुपैयाँ अनुदान र डेनमार्कले दिने ३ अर्ब १२ करोड रुपैयाँको अनुदान सहयोग स्वीकार गर्ने निर्णय समेत गरिएको छ ।
त्यस्तै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रामेश्वर यादव, रेडियो प्रसारण सेवा विकास समितिको कार्यकारी निर्देशकमा सुरेश कुमार कार्की र नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
– RSS