समय सकियो, राष्ट्रपतिले समय थपेनन् /प्रमुख दलहरुले सहमतीय सरकार गठनका लागि थप ७ दिनको समय माग

प्रमुख दलहरुले सहमतीय सरकार गठनका लागि थप ७ दिनको समय माग गरेका छन् । राष्ट्रपति डा. रामवरण यादवले दोस्रोपटक दिएको समयसीमा बिहीबार सकिएपछि दलहरुले थप समय मागेपनि राष्ट्रपति कार्यालयबाट म्याद थपको कुनै सूचना आएन् ।
विशेष समितिको सचिवालयमा बिहीबार बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकमा विवादित विषयहरुमा सहमति हुन नसकेपछि राष्ट्रपतिसँग थप समय माग गरिएको हो । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले वार्ता र संवादलाई निरन्तर जारी राखेर राष्ट्रपतिसँग म्याद थपको लागि आग्रह गरिने बताउनुभयो ।
चार दलको बैठक लगतै शीर्ष नेताहरुले राष्ट्रपतिलाई भेट्न खोजेपनि समय पाएनन् । अब भोलि विहान ८ बजे भेटको समय मिलाइएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भोलि दलहरुसँगको छलफलपछि मात्र समय थप्ने/नथप्ने टुङ्गो लाग्ने बताउनु भयो ।