आफ्नो भ्रमण सिंहदरबार जनताको घरमा आउने सन्देश भएको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जनताका घरमा बस्ने आफ्नो अभियान जनताका माग पूरा गर्ने जादुको छडि नभई जनताका लागि टाढा बनिरहेको सिंहदरबार जनताको घरमा आउने नयाँ गोरेटो कोर्ने प्रयास मात्र भएकोे बताउनुभएको छ । प्रत्येक महिनाको एक दिन गरिब जनताको घरमा बास बस्ने कार्यक्रम अन्तर्गत गएराति कैलालीको शक्तिनगर मुक्त कमैंया शिविर टीकापुर पुग्नुभएका प्रधानमन्त्री भट्टराईले स्थानीय नागरिकसँग उनीहरूको समस्या समाधान गर्न सरकार गम्भीर भएको बताउनुभयो । सरकारी तथ्याङ्कमै चार हजार मुक्तकमैया पुनस्थापना नभएको देखाएकाले धेरैले जग्गा नपाएको राज्यले स्वीकार गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । कमैयालाई जग्गा बाँडेर दिन नसकिने र सानो टुक्रो जग्गामा बाँधेर राख्न पनि नसकिने भन्दै राज्यले सहरी र औद्योगिक क्षेत्र नजिकै कमैंयालाई निशुल्क बास र घर बनाइ दिन सकिने आश्वासन दिनुभयो । मुक्तकमैंया महिला र वादी महिलाको सामाजिक इज्जत र प्रतिष्ठामा आघात पुग्ने काम भइरहेकाले त्यसप्रति संवेदनशील हुन प्रशासन र प्रहरीलाई प्रधानमन्त्रीले निर्देशन दिनुभयो । प्रधानमन्त्री भट्टराईलाई टीकापुर नगर विकास समिति, मुक्तकमैया समाज, सामुदायिक सहयोग समिति, टीकापुर विमानस्थल अध्ययन निर्माण तथा सन्चालन समिति, अखिल नेपाल शिक्षक युनियनलगायतले ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री भट्टराई आज राजधानी फर्कनुहुने कार्यक्रम छ ।
Binod gaire