सत्तारुढ गठबन्धनद्धारा राष्ट्रपतिले दिएको तेश्रो समयसीमा सकिए लगत्तै सबै दललाई वर्तमान सरकारमा आउन आह्वान गर्ने निर्णय

एकीकृत माओवादी र मधेशी मोर्चाको सत्तारुढ गठबन्धनले मुख्य विपक्षी दलहरु लगायत सबैलाई वर्तमान सरकार अन्तर्गत आउन आह्वान गर्ने तयारी गरेको छ।


राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न राष्ट्रपतिले दिएको तेश्रो समयसीमा समाप्त भए लगत्तै त्यस्तो आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सन्चार मन्त्री राजकिशोर यादवले बताएका छन्।


राष्ट्रिय सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको तेश्रो समयसीमा मंसिर २७ गते बुधबार सकिँदैछ।


गठबन्धनले शनिबार गरेको निर्णय कसरी कार्यान्वयनमा लाने भनेर मंसिर २८ गते विहान बैठक बस्ने तय भइसकेको बताइएको छ।

प्रवक्ता यादव भन्छन्, “राष्ट्रपतिले दिएको समयसीमा भइन्जेल सहमति खोज्ने प्रयत्न गर्ने त्यस लगत्तै कांग्रेस एमाले लगायतलाई आह्वान गरेर यहि सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयत्न गर्नेछौं।”


प्रवक्ता यादवका अनुसार शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्ड समेत सहभागी थिए।


राष्ट्रपतिले सहमतिको सरकार बनाउन समयसीमा तोकिदिएको भएपनि शनिबार विभिन्न कार्यक्रमहरुमा सत्तापक्षले सत्ता नछोड्ने र विपक्षीहरुले आन्दोलन बाहेक अरु उपाय नरहेको सार्वजनिक गरेका समाचार प्रसारित भएका थिए।
शनिबारै दिउसो राजधानीमा आयोजित एउटा कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले भने सहमति खोज्न आफुले प्रयत्न गरिरहेको बताएका थिए।

 

शनिबार विहान माओवादी अध्यक्ष प्रचण्ड एमाले नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाबीच कुराकानी भएको थियो।


प्रचण्ड भन्छन्, “कांग्रेस एमालेका नेताहरुसँग मेरो लामो कुराकानी भएको छ, कहिँ न कहिँ कतै न कतै सहमति खोज्नैपर्छ भन्ने छ।”

उक्त भेटवार्तामा आफुहरुले मुख्य दलहरुबीच बढ्दो अविश्वास कम गर्न तीन प्रमुख दलका शीर्ष नेताहरुबीच कुराकानी चलाउन प्रचण्डलाई सुझाव दिएको कांग्रेस नेता सीटौला बताउँछन्।

 

विपक्षीहरु माओवादी नेता प्रचण्डले बेलाबखत बोली फेर्ने गरेको आरोप लगाउँछन्।

BBC NEPALI /RSS