काठमाडौ – त्रिबेणी ग्रुपका कार्यकारी निर्देशक उद्योगपती गोबिन्दलाल सघाईमाथि कागजात कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद दिएको छ । आइतबार दिउँसो म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्याइएका उनलाई न्यायधीसले ४ दिनको म्याद दिएका हुन् । म्याद थपपछि संघाईलाई काठमाडौं प्रहरीको हिरासतमा राखेको छ ।
सरकारी कागजात तथा दस्तखत कीर्ते गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले गत मङ्गलबार पक्राउ गरेको थियो । काठमाडौं प्रहरीको हिरासत पुर्याइएका उनी हिरासत बसाईबाट बच्नका लागि बिरामी भएको बहाना बनाएर नर्भिक अस्पतालमा भर्ना भएका थिए । म्याद थप नगरि २४ घण्टा भन्दा बढी समय राख्न नपाउने भएपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो । आइतबार बिहान परिवारका सदस्यले अस्पतालले डिस्चार्ज गरिदिएको भन्दै प्रहरीको जिम्मा लगाएका थिए ।
संघाईले गत असार २९ गते दुग्ध विकास संस्थानको स्याचेट क्रेट खरिदका लागि आह्वान गरेको टेन्डरका साथ पेस गरेको कर चुक्तासम्बन्धी कागज नक्कली भएको प्रमाणित भएको थियो । संस्थानको ९६ लाख ५८ हजार १ सय १० रुपैयाँको उक्त टेन्डर हासिल गर्न संघाईले हस्ताक्षर गरेर पेस गरेको कागज नक्कली थियो । आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय नयाँसडक न्युरोडबाट जारी भएको भनिएका कागजहरू नक्कली प्रमाणित भएका छन् । ती कार्यालयको लेटरप्याडमा उल्लेख भएका चलानी नम्बरका कागजपत्रमा फरक/फरक मिति र विषयमा अन्य कार्यालयमा पत्राचार गरिएको भेटिएको थियो ।