काठमाडौं । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा भारतीय लगानीलाई सुनिश्चित गर्न विप्पा सम्झौता गरिएकाले यसबाट दुबै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल भ्रमणमा रहेका भारतको मुम्बई प्रेस क्लवका सदस्यहरुसँग उहाँले छिमेकी दुई ठूला मुलुकका लगानीलाई सुरक्षित गर्न नसके नेपालले आर्थिक विकास र प्रगति गर्न नसक्ने बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले विप्पा कार्यान्वयन प्रक्रियाको चरणमै रहेको भन्दै चीनसँग पनि ठूला लगानीबारे सरकारी तहमा कुरा भइरहेको जानकारी दिनुभयो ।
नेपालमा लगानीको सम्भावना भएकाले वातावरण बनाईदिन भारतीय पत्रकारहरुसँग प्रधानमन्त्रीको आग्रह थियो । प्रधानमन्त्री भट्टराईले दलहरुबीच वार्ता जारी रहेकाले चाँडै सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको आन्तरिक समस्याको समाधान गर्न नेपालका राजनीतिक दलहरु आफै सक्षम भएको उहाँको भनाइ थियो ।
पत्रकार टोलीले भने नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र राजनीतिक गतिरोधका बारेमा जिज्ञासा राखेका थिए । टोली नेपाल पत्रकार महासंघको निमन्त्रणामा साताव्यापी भ्रमणमा आएको हो ।
– RSS