रुसी उप विदेशमन्त्री मिखायल बोग्दानोभले सिरियामा विपक्षीहरुले राष्ट्रपति बशार अल असादको सरकारलाई पराजित गर्न सक्ने बताउनु भएको छ ।
रुसी समाचार एजेन्सीका अनुसार उप विदेशमन्त्री बोग्दानोभले दुर्भाग्यवश विपक्षीहरुको विजयको सम्भावनालाई रुसले अस्वीकार गर्न नसक्ने उल्लेख गर्नुभयो । उहांले राष्ट्रपति असादका सेनाले लगातार आफ्नो नियन्त्रण गुमाउंदै गएको बताउनु भएको छ ।
सिरियामा रहेका आफ्ना हजारौ नागरिकलाई त्यहांबाट हटाउने तयारीमा रहेको समेत रुसी उपविदेशमन्त्रीले जानकारी दिनुभयो । रुस राष्ट्रपति असादको सरकारको बलियो अन्तर्राष्ट्रिय सहयोगी रहंदै आएको छ ।
यसैबीच दमस्कस नजिकको क्वाताना क्षेत्रमा कार बम विष्फोटमा परि १६ जना मारिएका छन् । सिरियाली सरकारी समाचार एजेन्सी सानाका अनुसार मारिनेमा अधिकांश बालबालिका र महिला छन् । स्थानिय विद्यालय नजिक गराइएको उक्त विष्फोटमा २३ भन्दा बढी घाईते भएको बताइएको छ ।
– Agencies