प्रधानमन्त्री र राष्ट्रपतिवीच भेटवार्ता/प्रचण्ड र सुशीलवीच लाजिम्पाटमा सहमतीय सरकार गठन गर्ने एवं दलहरुबीच जारी गतिरोध अन्त्यलगायतका विषयमा छलफल

प्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रपति डा. रामवरण यादववीच आज बिहान  शीतलनिवासमा भेटवार्ता  भएको छ ।
भेटमा राष्ट्रपतिले सहमतिको पहल थाल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभैको छ भने प्रधानमन्त्रीले सहमतिका लागि बुँदागत प्रस्ताव दलहरुलाई बुझाइसकेको जानकारी राष्ट्रपतिलाई दिनुभएको छ । 
बिहान सवा १० बजेदेखि करिब पौने घण्टा भएको भेटमा प्रधानमन्त्री डा.भट्टराईले दलहरुवीच हालसम्म भएका सहमतिका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो । सो अवसरमा राष्ट्रपति यादवले दलहरु वीच सहमति कायम गरेर छिटो भन्दा छिटो मुलुकलाई निकास दिनको निम्ति पहल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको प्रधानमन्त्री कार्यालयस्रोतले बताएको छ ।
प्रधानमन्त्री भट्टराईले सहमतिका लागि आफुले दलहरुलाई केही बुँदासहितको एजेण्डा प्रस्तुत गरेको राष्ट्रपतिलाई जानकारी गराउँदै छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभएको बताइएको छ ।
यसैबीच एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेस सभापति सुशील कोइरालाबीच आजै बिहान भेटवार्ता भएको छ । 
प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा सहमतीय सरकार गठन गर्ने एवं दलहरुबीच जारी गतिरोध अन्त्यलगायतका विषयमा छलफल भएको थियो । भेटमा सभापति कोइरालाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेको लाजिम्पाट स्रोतले जनाएको छ । राष्ट्रपतिले सहमतिका लािग दिनुभएको पछिल्लो समयसीमाभित्रै निकास खोज्ने उद्देश्यले दुई नेताहरुबीच छलफल भएको हो ।