अमेरिका एक प्राथमिक स्कूलमा २७ जना मारिएपछि शोकमा


 

अमेरिकाको एक प्राथमिक स्कूलमा एक जनाले अन्धाधुन्ध गोली चलाउँदा २७ जना मारिएपछि शोकमा छ। कनेक्टीकट राज्यस्थित उक्त स्कूलमा बन्दूकधारीले चलाएको गोली लागेर मारिनेमा २० जना बालबालिका र ६ जना अरु व्यक्ति छन् । हत्यारा पनि मारिएका छन् ।
 
न्यूटाउनको सेन्डी हूक एलिमेन्टरी स्कूलमा गरिएको यो हत्या अमेरिकी इतिहासमै भएको सामूहिक हत्याकाण्ड मध्ये एक मानिएको छ । हत्याकाण्ड मच्चाउने अपराधी र हत्यामै संलग्न भएको आशंका गरिएका अर्का एकको पनि शव फेला परेको प्रहरीले जनाएको छ । सयौं राउण्ड गोली चलाइरहँदा बच्चाहरु रुवावासी गर्दै भाग्दै गरेको आफूहरुले देखेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
 
अदाम नाम गरिएका २० वर्षे हत्याराले आफ्नी आमाले पढाउने स्कूल र कक्षालाई निशाना बनाएको हो । घटनामा आक्रमणकारीको आमा नान्सी लान्जा पनि मारिएकी छिन् । उक्त स्कूलमा पाँचदेखि दश वर्षका बालबालिका मात्र अध्ययन गर्दथे ।
 
घटनाबाट दुःखी बनेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले देशलाई नै ठूलो धक्का लाग्ने यस्ता कृत्य हुन नदिन कडा कदम चाल्नुको विकल्प छैन भन्नुभयो । प्रेस सम्मेलनमै आँशु झार्दै देखिनुभएका ओबामाले मारिएका बालबालिकाको परिवारप्रति समवेदना व्यक्त गर्न आफूसँग कुनै शब्द नभएको र जस्तै शब्दले पनि घटनाको पीडा कम गर्न नसक्ने बताउनुभयो ।
 
यस घटनाले अमेरिकी नागरिकले बन्दूक राख्न पाउने कानूनी प्रावधानमाथि फेरि एक पटक बहस छेड्ने बताइएको छ । पाँच वर्ष अगाडि पनि भर्जिनियाको एक विश्वविद्यालयमा एक विद्यार्थीले ३२ जनाको यसैगरी हत्या गरेको थियो । गएको जुलाईमा कोलोराडोको एक सिनेमा घरमा एक जनाले गोली हानेर १२ जनाको हत्या गरेको थियो ।

 

– Agencies