मध्य चीनको एक प्राथमिक विद्यालयमा छुरी हानेर २२ जना बच्चा घाइते

 मध्य चीनको एक प्राथमिक विद्यालयमा पनि एक व्यक्तिले छुरी हानेर २२ बच्चा र अर्का एक जनालाई गम्भीर घाइते बनाएको छ ।

 

हेनन प्रान्तको चेनपेंग गाउँको प्राथमिक विद्यालयमा भएको घटनाका घाइतेको अवस्थाबारे विस्तृत जानकारी आइनसकेको चिनियाँ समाचार संस्था सिह्न्वाले जनाएको छ ।

 

प्रहरीले ३६ वर्षीय एक जनालाई घटनामा संलग्न भएको आशंकामा पक्रेको छ । शुरुमा एक महिलामाथि आक्रमण गरेको आक्रमणकारीले लगत्तै बालबालिकामाथि नृशंस ढंगले चक्कू प्रहार गरेको थियो । बच्चाहरु विहान भर्खरै स्कूल पुग्दै गरेका समयमा आक्रमण भएको थियो ।

 

जागीर गुमाएका वा आर्थिक अवस्था दूरुह भएकाहरुबाट पछिल्ला दिनमा चीनमा यस्ता अपराध हुन थालेको बताइन्छ । सन् २०१० मा पूर्वी चीनको एक स्कूलमा पनि यसैगरी एक व्यक्तिले चक्कू प्रहार गरेरै २८ बालबालिका, दुई शिक्षक र एक सुरक्षा गार्डलाई घाइते बनाएको थियो ।

 

– Agencies