राष्ट्रिय सहमति कायम गर्ने विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले बरिष्ठ नेता माधव कुमार नेपाल र काँग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलावीच छलफल भएको छ । माओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा सोमवार विहान भएको छलफलमा भएका सहमतिलाई लिपिबद्ध कसरी गर्ने भन्नेवारे कुराकानी भएको छ ।
तीन नेतावीच भएको छलफलमा आजसाँझसम्म पनि सहमतिलाई लिपिबद्ध गर्न नसकिए राष्ट्रपतिलाई पुनः समय थप लगाउने वा अरु कुनै उपाय खोज्ने भन्ने विषयमा समेत छद्धलफल भएको स्रोतले जनाएको छ ।
राजनीतिक सङ्कटको समाधानका लागि आजै साँझ बस्ने प्रमुख दलहरुको बैठकले सहमति जुटाउने प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
तीन नेतावीच राष्ट्रिय सहमतिको सरकार, निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुनको व्यवस्था, संवैधानिक निकायमा नियुक्ति, सत्य निरुपण आयोगको गठनलगायतका विषय पनि छलफल भएको थियो ।