काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका लागि चौथो पटक दिएको समयसीमा भित्र पनि दलहरु सहमति जुटाउन असफल भएका छन् । सहमतिका लागि भन्दै नेताहरुले दिनभर अनौपचारिक तहमा छलफल गरेपनि कुनै सहमति जुट्न सकेन । पहिले अनौपचारिक तहमा सहमति जुटाएर त्यसलाई आजै साँझ औपचारिक रुप दिने भन्दै एकीकृत माओवादी, कांग्रेस र एमाले नेताहरु बिहानैदेखि छलफलमा जुटेका थिए ।
तर, दिनभर भएका वार्तापछि कांग्रेस-एमाले प्रधानमन्त्री डा. बाबुराम भट्टराइले सरकार छाड्न नचाहेको निश्कर्षमा पुगेका छन् । आज साँझ पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको कांग्रेस बैठकले प्रधानमन्त्रीले पद त्याग गर्न नचाहेका कारण गतिरोध लम्बिएको निश्कर्ष निकालेको छ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेसलाई नेतृत्व दिन सकारात्मक रहे पनि प्रधानमन्त्रीले पद त्याग्न नचाहेका कारण आज सहमति बन्न नसकेको कांग्रेस एमाले स्रोतको दाबी छ ।
आजै नेकपा माओवादी र एमालेका नेताहरुबीच एमाले मुख्यालय बल्खुमा भएको छलफलमा पनि अहिलेको सरकारलाई बिस्थापन गर्ने सहमति बनेको थियो । अहिलेको सरकार हटाउनुपर्नेमा दुबै दल सहमत भएपनि सुशील कोइरालालाई नेतृत्व दिनेबारे भने सहमति बन्न सकेन ।
छलफलमा नेकपा माओवादीले महासचिव रामबहादुर थापालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको थियो । छलफलपछि एमाले नेता केपी ओलीले एकीकृत माओवादीका कारण दलहरुबीच सहमतिको सम्भावना कमजोर बनेको भन्दै राष्ट्रपतिबाट फेरि सहमतिका लागि म्याद थप हुने बताए ।
यसअघि विहान एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रमुख तीन दलका नेताहरुबीच छलफल भएको थियो । छलफलमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्ण सिटौला सहभागी थिए ।
केहि दिनयता नेताहरुले लगातार सबैले जित्ने गरी सहमति गर्न लागेको वताएपछि सहमति बन्न लागेको आशा गरिएको थियो । स्वयं एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले साँझसम्ममा सहमति बन्ने दाबी गरेका थिए ।