सरकारी निर्णयअनुसार इमरजेन्सी तथा ट्रमा सेन्टरका निर्देशकले तीन वर्ष मात्र सेवा गर्न पाउने “सेवाअवधि ३ वर्ष नियुक्ति ४ वर्ष”

-प्रवीण ढकाल
सरकारी निर्णयअनुसार इमरजेन्सी तथा ट्रमा सेन्टरका निर्देशकले तीन वर्ष मात्र सेवा गर्न पाउनेछन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई अवैध रूपमा चार वर्षको नियुक्ति दिएको छ ।
वीर अस्पतालको हाडजोर्नी विभागका प्रमुखसमेत रहेका डा. अशोकरत्न वज्राचार्यलाई मन्त्रिपरिषद्ले २६ जेठमा तीन वर्षका लागि सेवा अवधि थप गरेको थियो । उनले २६ असोजबाटै उमेरका आधारमा अनिवार्य अवकाश पाए पनि मन्त्रिपरिषद्को निर्णयपछि थप तीन वर्ष काम गर्न पाउने भएका हुन् । तर, कात्तिक १६ गतेको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि ट्रमाका निर्देशक नियुक्त गरिएको छ ।
उमेरका आधारमा अवकाश पाउनुअगाडि नै मन्त्रिपरिषद्ले डा. वज्राचार्यलाई अर्थोपेडिक सर्जनको विशेषज्ञ सेवा लिने गरी नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक उपसमूह, अधिकृत एघारौँ तहको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन पदमा असोज २६ देखि लागू हुने गरी जेठ २६ गते नै सेवा अवधि थप गरेको हो । तर, मन्त्रिपरिषद्ले दिएको समयभन्दा एक वर्ष बढीका लागि स्वास्थ्य मन्त्रालयले उनलाई नियुक्ति दिएको छ ।
मन्त्रालयको कर्मचारी प्रशासनका एक कर्मचारीले सेवा अवधि नै तीन वर्ष रहेका व्यक्तिलाई के आधारमा मन्त्रालयले चार वर्षको नियुक्ति दियो आफूले बुझ्न नसकेको बताए ।