ईजिप्टमा २ तिहाई मतका साथ संविधानको मस्यौदा पारित भएको छ । राष्ट्रपतिद्वारा गठित संविधान मस्यौदा आयोगले बनाएको संविधानका पक्षमा खसेको मतको २ तिहाई प्राप्त भएको निर्वाचन आयोगले प्रष्ट गरेको हो ।
१५ र २२ डिसेम्बर गरी २ चरणमा गरिएको जनमत संग्रहमा ६३ दशमलव ८ प्रतिशत मतदाताले मस्यौदाको पक्षमा भोट हालेका हुन् । जनमत संग्रहको परिणाम आएलगत्तै अब २ महिनाभित्र इजिप्टमा संसदको चुनाव हुनेछ ।
आलोचकहरुले भने आयोगमार्फत संविधान जारी गरिनुलाई क्रान्तिप्रति धोका भएको टिप्पणी गरेका छन् । विपक्षीहरुले राष्ट्रपति मुर्सीले देशमा इस्लाम चरमपन्थी सोंचअनुरुपको संविधान थोपर्न खोजेको आरोप लगाएका छन् ।
नयाँ संविधानमा नागरिक स्वतन्त्रता, महिला अधिकार र ईसाइहरुको अधिकार संरक्षणका लागि पर्याप्त व्यवस्था नभएको आरोप विपक्षीको छ । तीस सालदेखि एकछत्र राज गरिरहेका तानाशाह होस्नी मुवारकविरुद्ध इजिप्टका नागरिकले गत वर्ष क्रान्ति गरी विजय पाएका थिए ।
अहिले सत्ताको नेतृत्व मुस्लिम ब्रदरहुड पार्टीले गरिरहेको छ । राष्ट्रपति मोहम्मद मुर्सीका समर्थकहरुले नयाँ संविधान लागु भएपछि देशमा लोकतन्त्र सुरक्षित हुने र स्थिरता पनि बढ्ने दावी गरेका छन् ।
निर्वाचन आयोगका अध्यक्ष समीर अबुल मातीका अनुसार पाँच करोड बीस लाख मतदाता मध्ये ३२ दशमलव ९ प्रतिशतले मात्र जनमत संग्रहमा भाग लिएका थिए ।
– एजेन्सी