चीनमा विद्वत वर्गले सत्ताधारी कम्युनिष्ट पार्टीका नयाँ नेताहरुसँग मुलुकमा राजनीतिक सुधारका लागि अपील गरेका छन् । ७० भन्दा बढी प्राध्यापक तथा वकिलहरुले राज्य सञ्चालनका लागि चुनिएका नयाँ नेताहरुसँग कानूनको दायाराभित्र रहेर शासन गर्न पनि माग गरेका छन् ।
पेकिङ विश्वविद्यालयका कानूनका प्राध्यापक छाङ छियानफानको नेतृत्वमा यस सम्बन्धि मस्यौदा बनाइएको बताइएको छ । राज्य सञ्चालन पद्धतीमा सुधार नगर्ने हो भने क्रान्तिको उपलब्धि नै खतरामा पर्नसक्ने भन्दै छाङले सुधारका निम्ति विभिन्न विचारबीच सहमति गराउने दिशामा भूमिका खेल्न आफू तयार रहेको बताएका छन् । अर्थशास्त्री चोंग ताचुनले चीनको नेतृत्वले देशको सार्वभौम मूल्यको सम्मान गर्नुपर्ने बीबीसीलाई बताएका छन् ।
मस्यौदामा संविधान सम्मत रुपमा शासन गर्न, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न, निजी उद्योगलाई प्रश्रय दिन र स्वतन्त्र न्यायपालिका सञ्चालनका लागि अनुमति दिन पनि नयाँ नेताहरुसँग आग्रह गरिएको छ । सामाजिक असमानता, सत्ताको दुरुपयोग र भ्रष्टाचार जस्ता समस्या तत्काल अन्त्य हुनुपर्ने उनीहरुको भनाइ छ । यद्यपि, उनीहरुले कम्युनिष्ट पार्टीको एकतन्त्रीय शासन अन्त्यका बारेमा भने केही बोलेका छैनन् ।
सन् १९८९ मा कम्युनिष्ट पार्टीको शासन विरुद्ध बेइजिङको तियानन्मन चोकमा प्रजातन्त्रको माग गर्दै भएको प्रदर्शन दबाइए यता चिनियाँ शासकले त्यस्तो कुनै गम्भीर चुनौति ब्यहोर्नु परेको छैन । आगामी जनवरीदेखि चीनमा नयाँ राष्ट्रपति र प्रधानमन्त्रीले शासन गर्ने लागेकै समयमा यस्तो माग बाहिर आएको हो ।
– Agencies