महिलाविरुद्धको हिंसा अत्यधिक हुन थालेपछि अधिकारवादीहरुद्वारा राजधानीमा प्रदर्शन

काठमाडौं । महिलाविरुद्धको हिंसा अत्यधिक हुन थालेपछि आज अधिकारवादीहरुले राजधानीमा प्रदर्शन गर्दैछन् । हिंसामा संलग्नहरुमाथि कारवाही प्रक्रियासमेत सुस्त गतिमा भएकोमा अधिकारवादीहरुले आपत्ति जनाएका छन् । महिलाविरुद्ध हुने हिंसा रोक्नका लागि राज्य, सरकार, समाज, परिवार सबैको ध्यान आकर्षण गर्नका लागि आज सिंहदरवारको दक्षिण गेटमा धर्ना दिन लागिएको महिला अधिकारकर्मी रेणुराज राजभण्डारीले जानकारी दिनुभयो । यस वर्षको वैशाखदेखि मंसीरसम्ममा मात्र ८८ जना महिलाको हत्या गरिएको तथा मंसीर महिनामा मात्र १६ जना मारिएको उहाँले बताउनुभयो ।

पछिल्लो पटक बर्दियामा शिवा हासमीलाई जिउँदै जलाएर हत्या गरिएको घटना सेलाउन नपाउँंदै बारामा अर्की युवतीलाई पनि जलाएर हत्या गरिएको छ । बाराको प्रस्टोका गाउँ विकास समिति वडा नम्बर ५ की १७ बर्षिया विन्दुकुमारी ठाकुरलाई जलाएर हत्या गरिएको हो । जलाएर हत्या गरिएकी विन्दुकुमारीको शव हिजो बिहान उनको घर नजिकै करेसाबारीमा फेला परेको थियो । विन्दुको शरीरको ९० प्रतिशत भाग जलेको पाइएको प्रहरीले जनाएको छ । अन्यत्रै जिउँदै जलाएर हत्या गरी शव घर नजिकै ल्याएर फालिएको हुनसक्ने आशंका गरिएको छ । तर अहिलेसम्म प्रहरीले घटनामा संलग्न ब्यक्तिको पहिचान समेत गर्न सकेको छैन ।

 कञ्चनपुरमा पनि सामान्य घरायसी विवादमा एक युवकले हसियाँले हानेर श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका गड्डाचौकीका राम लुहारले श्रीमती विमलाको हत्या गरेको प्रहरीले जनाएको छ ।

 

– RSS