काठमाडौं । कामचलाउ सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा नियुक्तिका साथै महत्वपूर्ण निर्णयहरु गरेको छ । कामचलाउ प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले भारतसँगको पारवहन सन्धि नवीकरण गर्न वाणिज्य मन्त्रालयलाई स्वीकृति दिएको छ । गाउँ विकास समितिमा जाने विकास बजेटबाट कट्टा हुनेगरी गाविस सचिवलाई मासिक १५ सय रुपैयाँ भत्ता दिने निर्णय पनि सरकारले गरेको छ । यस्तै, नेपाल टेलिभिजनको अध्यक्षमा चार वर्षका लागि सीताराम अग्रवाललाई नियुक्त गरेको छ । सञ्चारमन्त्रीको सल्लाहकारमा शिवप्रसाद अधिकारीलाई नियुक्ति गर्ने र प्रधान सेनापति गौरवशमशेर राणाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।
आजै एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ । दिउँसो बस्ने बैठकमा राष्ट्रिय सहमतिका लागि तयार गरिएको विभिन्न विकल्पमाथि छलफल हुने बताइएको छ । वर्तमान सरकारमा सहमति जुट्न नसके गठबन्धनभित्रैबाट कुनै एक व्यक्तिमा सहमति गरिनुपर्ने वा स्वतन्त्र व्यक्तिको नेतृत्वबारे पनि छलफल हुने बताइएको छ । संविधान लेखनका क्रममा मिलिसकेको बिषयमा सहमति भए निश्चित समयको लागि संविधान सभाको पुनस्र्थापना गर्न सकिनेलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
-RSS