नयाँ दिल्लीमा बसभित्र बलात्कार र आक्रमण बेहोरेकी २३ वर्षीया युवतीको निधन

सिंगापुर – भारतको राजधानी नयाँ दिल्लीमा बसभित्र बलात्कार र आक्रमण बेहोरेकी २३ वर्षीया युवतीको निधन भएको छ।

 

स्थानिय समयअनुसार आज बिहान ४:४५ सिंगापुरमा उनको निधन भएको हो। दिल्लीको अस्पतालमा सघनकक्षमा उपचारपछि एयर एम्बुलेन्सबाट उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो।
 
उनको शवलाई आजै भारत ल्याइने बताइएको छ।

सिंगापुरमा उनलाई चर्चित अस्पताल माउन्ट एलिजावेथ हस्पिटलमा भर्ना गरिएको थियो। उनका शरीरका अंगहरुले काम गर्न छाड्दै गएका थिए। ‘उनी उपचारकै क्रममा शान्तरुपमा वितिन् भन्दा हामीलाई दुख लागेको छ,’ अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. केल्भिन लोले भने, ‘त्यतिखेर उनका परिवारका सदस्य र भारतीय नियोगका प्रतिनिधिहरु पनि उपस्थित हुनुहुन्थ्यो।’ अस्पतलाले उनको निधनमा शोक व्यक्त गरेको छ।


भारतका प्रधानमन्त्री मनमोहन सिंहले उनको निधनप्रति दुख प्रकट गर्दै दोषीलाई कडाभन्दा कडा सजाँय हुने बताएका छन्। भारतका दिल्लीलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

– एजेन्सी