सिंगापुरको अस्पतालमा निधन भएकी भारतीय किशोरीको अन्तिम संस्कार

सामुहीक बलात्कारको शिकार भएको १६ दिनपछि सिंगापुरको अस्पतालमा निधन भएकी भारतीय किशोरीको आज विहान अन्तिम संस्कार गरिएको छ ।

 

दिल्लीमा उपचार हुन नसकेपछि गत विहीवार सिंगापुर लगिएकी किशोरी दामिनिको हिजो विहान सिंगापुरको माउन्ट एलिजावेथ अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । निधन पश्चात गएराती उनको शव दिल्ली ल्याईएको थियो । दिल्लीमा प्रदर्शनमाथि प्रतिवन्ध लगाइएकै अवस्थामा आज विहानै उनको अन्तिम संस्कार गरिएको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ ईण्डीयाले जनाएको छ ।

गत डिसेम्बर १६ मा ती युवतीमाथि भएको पाशविक कुकृत्यपछि भारतभर विरोध फैलिएको थियो । घटनामा संलग्न सबै ६ जना पक्राउ परिसकेका छन् र उनीहरुमाथि हत्याको अभियोग लगाइएको अधिकारीहरुले जनाएका छन् । यसैबीच युवतीको निधन भएलगत्तै दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ ।

 

दिल्लीका दश वटा मेट्रो स्टेशन बन्द गरिएको छ भने प्रहरीले शहरमा समुहमा हिड्डुल नगर्न आग्रह गरेको छ । पांच जना भन्दा बढीको समुहमा हिड्न समेत स्थानिय प्रशासनले रोक लगाएको छ । सयौं सशस्त्र प्रहरी र दंगा प्रहरी परिचालन गरिएको छ भने प्रहरीलाई संयम अपनाउन आग्रह गरिएको छ । कोलकता ,मुम्बई लगायतका शहरमा पनि प्रदर्शन भएको समाचार छ ।

 

– Agencies