काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नयाँ सरकार गठनका लागि दलहरुलाई पुनः पौष २० गते सम्मको म्याद दिएका छन् । शीतल निवासमा प्रमुख ४ दलका नेताहरुसँग आज विहान भएको छलफल अनुसार राष्ट्रपति यादवले सातौं पटक पुनः ५ दिनको म्याद दिएका हुन् ।
राष्ट्रपतिसँग आज भएको छलफलमा सहभागी नेताहरुले पुस २५ गतेभित्र सहमति गरी नयाँ सरकार बनाउने प्रतिवद्धता जनाएका थिए । राष्ट्रपति यादवसँगको परामर्शमा नेताहरुले २५ गतेभित्र २ चरणमा छलफलगरी सबै सहमति गर्ने आश्वासन दिएका हुन् ।
छ पटकसम्मको समयसीमा त्यत्तिकै खेर फालेका नेताहरु सधैं भैंm यस पटक पनि सहमतिको नारा लगाउँदै शीतल निवासबाट बाहिरिएका थिए । यसअघि राष्ट्रपति यादवले भारत भ्रमणमा निस्किनुअघि दलहरुलाई सहमतीय सरकारका लागि ५ दिनको म्याद थप गरेका थिए ।
सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको ६ पटकसम्मको समयसीमा त्यत्तिकै खेर फालेका नेताहरुले पहिलो चरणमा अरु ५ दिनको म्याद मागेका थिए । शीतल निवासमा आज भएको छलफलमा एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी थिए ।
मंसिर ८ गते पहिलो पटक ७ दिनको समय दिएर सहमतिको सरकार बनाउन आग्रह गरेयता छ पटकसम्म थपिएको म्यादमा दलहरुले ३८ दिन गुजारिसकेका छन् । तैपनी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मार्ग प्रशस्त गर्न नचाहँदा सहमति बन्न सकेको छैन ।
– RSS