काठमाडौं । आज पुस १६ अर्थात् ३७ औं राष्ट्रिय मेलमिलाप दिवस । वि.सं २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर आजैका दिन स्वदेश फर्कनु भएको थियो ।
जननायक बीपी कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्कनु भएको यसै दिनको सम्झनामा यो दिवस मनाइने गरिएको हो । त्यतिबेला तत्कालीन राज्यसत्ताले उहाँलाई फाँसीको सजायँसम्म दिनसक्ने परिस्थितिको पर्वाह नगरी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो । आज पनि देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय मेलमिलापको सन्देश उत्तिकै सान्दर्भिक रहेको छ । यसै सन्दर्भमा आज नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् ।
मेलमिलाप दिवसकै अवसरमा कांग्रेस सभापति सुशील कोइरालाले सबै राजनीतिक दललाई एकताबद्ध भएर संविधान निर्माणमा जुट्न आह्वान गर्नुभएको छ । दलीय सहमतिले मात्र नेपाली जनताको इच्छा र चाहना अनुसार दिगो शान्ति, समुन्नत र समृद्ध राष्ट्र निर्माण हुन सक्ने उहाँले बताउनुभएको छ ।
राष्ट्रिय एकता, लोकतन्त्र र दिगो शान्ति पार्टीको प्रमुख एजेन्डा रहेको जनाउँदै कोइरालाले लोकतन्त्र कांग्रेस यात्राको मूल चुरो भएको प्रष्ट गर्नु भएको छ । उहाँले मुलुकका सबै राजनीतिक विचार र दललाई एकताबद्ध बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्नु कांग्रेसले प्रमुख दायित्व मानेको भन्नुभएको छ ।
– RSS