काठमाडौं । विशेष अदालतले प्रहरी प्रधान कार्यालय नक्सालस्थित पेट्रोल पम्पको रकम हिनामिना गरेको मुद्धामा पम्पका लेखापाल प्रहरी नायव निरीक्षक आनन्द रोक्का र नेपाल प्रहरीको सशस्त्र गणका निरीक्षक जोगलाल डंगोलसंग धरौटी माग गरेको छ । विशेष अदालतका सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले निजहरुले रकम हिनामिना गरेको देखिएको भन्दै पछि ठहरे बमोजिम हुनेगरी रोक्काबाट ३० लाख र डंगोलबाट १० लाख रुपैयाँ धरौटी माग गरेको हो ।
तर, रोक्का र डंगोलले धरौटी रकम बुझाउन नसकेपछि उनीहरुलाई सदरखोर डिल्लीबजार चलान गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा पेट्रोल पम्पको रकम हिनामिना भएको दाबीसहित ५ जनालाई प्रतिवादी बनाई मद्दा दर्ता गरेको थियो ।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको ब्रम्हस्थान सामुदायिक बन फडानीमा संलग्न रहेको भन्दै २२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जसमा ८ जना डि एफ ओ, सामुदायिक वनमा पदाधिकारी र ठेकेदारहरु रहेका छन् ।
-rss