काठमाडौ – राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सातौं पटक दिएको पाँच दिनको समयसीमा सकिन लाग्दा राजनीतिक भेटघाटले तिव्रता पाएको छ । बुधबार प्रधानमन्त्री बाबुराम भट्टराई तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले छुट्टा छुट्टै एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंग भेटेका छन् ।
भेटमा प्रधानमन्त्री भट्टराईले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाएर जान सकिने प्रस्ताव गरेका छन् । उनले कांग्रेस एमाले बाहेकका राजनीतिक दलबाट वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जानसकिने प्रस्ताव गरेको बुझिएको छ । प्रधानमन्त्रीसंगको भेटपछि नेता नेपालले सरकारको नेतृत्व भन्दा पनि निर्वाचन महत्वपूर्ण भएकाले एमाओवादीले पार्टीबाट संस्थागत निर्णय गरेर ल्याए अन्य विकल्पहरुमा पनि छलफल गर्न सकिने बताए । ‘उहाँ-प्रधानमन्त्री)को कुरा तटस्थ व्यक्तिको नेतृत्वमा सरकार बनाउँ भन्ने पनि थियो,’नेपालले भने ‘गतिरोध अन्त्यका लागि दाहाल र भट्टराईबाट फरक फरक कुरा आएकाले पार्टीबाट निर्णय गराएर आउन भनेको छु ।’
यसैबीच, नेता नेपालसंग भेटेका तमलोपा अध्यक्ष ठाकुरले निर्वाचन र सरकारका विषयमा छलफल भएको बताए ।
निजी काममा थाइल्यान्ड गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्केपछि राजनीतिक छलफलले थप तिव्रता पाउने छ । यसैबीच नेता नेपालले कांग्रेस नेताहरुलाई पनि भेट्दैछन् ।