नुवाकोटको चौघडामा बर्ड फ्लु फेला, कयौ कुखुरा र पंक्षी नष्ट

नुवाकोट  । नुवाकोटको चौघडा गाउं विकास समितिमा बर्ड फ्लु फेला परेको छ । स्थानीय ध्रुव राईको घरमा पालेको लोकल कुखुरामा रोग फेला परेको हो ।

 

बर्ड फ्लु देखिएपछि काठमाडौँबाट गएका चिकित्सकको टोली र जिल्लाका पशु चिकित्सकको टोलीले कुखुरा र अन्य पंक्षी नष्ट गरेका छन् । काठमाडौंबाट पुस १७ गते ल्याएको दुई वटा ब्वाइलर कुखुराबाट रोग सरेको प्रमुख जिल्ला अधिकारी वलीले जानकारी दिनुभयो ।

 

बर्ड फ्लु देखिएपछि अहिले चौघडा गाविस वडा नम्बर २ स्थित रानीभार फाँट, पश्चिममा कलिबन, उत्तरमा तादी खोलाको बन र दक्षिणमा लिखु खोलाको बगर र जंगललाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । साथै संक्रमित क्षेत्रका विद्यालयहरु पनि तीन दिनका लागि बन्द गरिएको छ ।

 

– RSS