सिन्धुलीमा अनिश्चितकालका लागि गरी कफ्र्यु आदेश जारी

सिन्धुली  । सिन्धुली कारागारमा कैदी बन्दीबीच झडप हुँदा एकको मृत्यु भएको विषयलाई लिएर जिल्ला सदरमुकाम आज दिनभर तनावग्रस्त बनेपछि जिल्ला प्रशसान कार्यालय सिन्धुलीले अपरान्ह साढे चार बजेदेखि लागु हुने अनिश्चितकालका लागि गरी कफ्र्यु आदेश जारी गरेको छ ।

 

सदरमुकामको कमलामाई नगर क्षेत्र भित्र शान्ति सुरक्षा कायम राख्न कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो । मृतकका आफन्त तथा स्थानीयले शान्ति सुरक्षा नभएको भन्दै जिल्ला प्रशासनमा ढुङ्गामुढा गर्नुका साथै सडकमा टायर बालेर बजार र यातायात बन्द गरी लगातार आन्दोलन जारी राखेका कारण कफ्र्यु जारी गरिएको बताइएको छ ।

 

यसअघि सिन्धुली जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुबीच बुधबारराती दोहोरो झडप हुदां सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर १ का निरज देवकोटाको मृत्यु भएको थियो । आर्थिक लेनदेनको बिषयमा कारागारका नाइके पक्ष र अन्य बन्दीबीच भएको दोहोरो झडप हुँदा उनको मृत्यु भएको हो ।

 

झडपमा परी अन्य सातजना कैदी घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि पुन :कारागार लगिएको छ । घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ ।

 

– Agencies