काठमाडौ – एमाओवादी अध्यक्ष दाहालले वैशाखमा निर्वाचन हुने सम्भावना टरेको बताएका छन् । दलहरूबीच सहमति नभइरहेका बेला उनको यस्तो धारणा आएको हो । ‘वैशाखमा निर्वाचन हुने सम्भावना टरेको छ,’ पार्टी निकट कृष्णसेन अनलाइनसँग उनले भने, ‘निर्वाचनका लागि आवश्यक प्रक्रियाको अझै टुंगो छैन । यस्तो अवस्थामा वैशाखमा निर्वाचन हुन सक्दैन ।’
उनले कांग्रेस, एमालेका कारण निर्वाचन नभएको आरोप लगाए । ‘चुनावसहित सबै विषयमा प्याकेजमा सहमति गरौं भन्दा कांग्रेस-एमालेले मानेनन्,’ दाहालले भने ।
संविधानका अन्तरवस्तुसहित विवादित सबै विषयमा प्याकेजमा सहमति नभएसम्म वर्तमान सरकार नहट्ने उनको भनाइ थियो । ‘प्याकेजमा सहमति भयो भने अरूलाई नेतृत्व दिन तयार छौं भनेर पार्टीका तर्फबाट मैले र बाबुरामजीले पटक-पटक भनेका छौं,’ उनले भने, ‘हाम्रो कारणले होइन, कांग्रेस-एमालेको अहम र दम्भका कारण यो सरकार अनन्तकालसम्म जाने देखेको छु ।’
उनले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने विषय त्यति राम्रो नभए पनि अन्तिम विकल्पमा रूपमा उक्त विषय अघि सारिएको बताए । ‘बंगलादेशमा पनि पूर्वन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । चुनावपछि ताजा जनादेशअनुसार दलहरूकै नेतृत्वमा मुलुक गयो । नेपालमा पनि त्यसै गर्ने भनेको हो,’ उनले भने, ‘अनन्तकालसम्म स्वतन्त्र व्यक्तिलाई देश जिम्मा लगाउने भनेको होइन । निर्वाचन प्रयोजनका लागि मात्र गठन हुने त्यस्तो सरकारको औचित्यता चुनावपछि स्वतः सकिन्छ ।’
RSS