नेपाल विद्युत् प्राधिकरणले समयमै विद्युत् को महसुल नतिर्ने करिब पाँच हजार ग्राहकको लाइन काटयौ

नेपाल विद्युत् प्राधिकरणले समयमै विद्युत् को महसुल नतिर्ने करिब पाँच हजार ग्राहकको विद्युत् लाइन काटेको छ ।
प्राधिकरण सञ्चालक समितिले विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काट्न निर्देशन दिएको दुई हप्ताभित्रै प्राधिकरणले करिब ५ हजार लाइन काटेको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठका अनुसार दुई हप्ताभित्र वितरण तथा ग्राहक सेवा पूर्वका दुई हजार पाँच सय २५ तथा पश्चिमका दुई हजार दुई सय २५ ग्राहकको लाइन काटिएको हो ।
प्राधिकरणका अनुसार लाइन काटिएका ग्राहक मध्येबाट दुई हप्ताभित्रै प्राधिकरणले चार करोड ५२ लाख ४६ हजार रुपियाँ बक्यौता असुलसमेत गरेको छ । ग्राहक शाखा पूर्वअन्तर्गत तीन करोड आठ लाख तथा पश्चिमअन्तर्गत एक करोड ४३ लाख रुपियाँ बराबर असुली गरेको निमित्त कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । लाइन काटिनेमा गार्हस्थ, औद्योगिक, सरकारी कार्यालय, व्यापारिक, कालो सूचीका र अन्य ग्राहक छन् ।
प्राधिकरणका अनुसार गार्हस्थबाट दुई करोड ३२ लाख, औद्योगिक क्षेत्रबाट एक करोड ३८ लाख, सरकारी कार्यालयबाट २१ लाख, व्यपारिकबाट ५१ लाख, कालो सूचीका ६ लाख तथा अन्य ग्राहकबाट तीन लाख रुपियाँ बक्यौता उठाएको हो ।