भट्टराईकै कारण दाहाल बदनाम भएको नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितको भनाइ

नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले मधेसी दलले बाबुराम भट्टराईको साथ छाडे एक दिनमै सरकार ढल्ने दाबी गरेका छन् ।
एमाओवादी निकटको आरोप खेप्दै आएका दीक्षितले बुधबार मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको महाधिवेशन उदघाटन सभामा प्रधानमन्त्रीको खुलेरै विरोध गरे । उनले प्रधानमन्त्री भट्टराई सहमतिको बाधक रहेको बताउँदै मुलुक र पार्टीलाई सिध्याएको आरोप लगाए ।
‘मुलुक सिध्याए, पार्टी फुटाए, सहमति हुन दिएनन्,’ प्रधानमन्त्रीको कडा आलोचना गरेका उनले भने, ‘बाबुराम रहेसम्म मुलुकले अग्रगति पाउँदैन, उनसलाई ढाल्नैपर्छ ।’ मधेसी जनता अहिले पनि बाबुरामको पक्षमा नरहे पनि केही मधेसी दलको सत्ता स्वार्थले सरकार जीवितै रहेको उनले बताए ।
‘मधेसी जनता त बाबुरामको पक्षमा छैनन्,’ उनको भनाइ थियो, ‘एकैछिन सत्ताको स्वार्थ मधेसी दलले छाड्ने हो भने बाबुराम सरकार ढलिहाल्छ ।’ उनले भट्टराईकै कारण एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बदनाम भएकोसमेत उल्लेख गरे ।