राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि माघ १ गतेसम्मको समय थप गरेका छन् ।
प्रमुख दलका नेताहरुसँगको छलफलपछि राष्ट्रपतिले राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गरी उनकै अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि प्रस्ताव पेश गर्न पाँच दिन म्याद थप गरेका हुन् । राष्ट्रपतिले म्याद थप गरेको यो नवौं पटक हो ।
राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार राजनीतिक सहमतिको सरकार गठनका लागि मंसिर ८ गते दलहरुलाई समयसीमा तोकेर आहृवान गरेका थिए । सहमति गर्न असक्षम भएपछि दलका नेताहरु थप समय माग्दै शीतल निवास जाने गरेका छन् ।
गतिरोध अन्त्यका लागि दलहरुको प्रयास सार्थक हुन नसकेपछि चिन्तित प्रधानमन्त्रीले आफैं अन्य दलका नेताहरुसँग पनि परामर्श गरिसकेका छन् ।
प्रेस विज्ञप्तीको पूर्णपाठ
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०६९ साल पौष २५ गते बुधबारका दिनसम्म समय थप भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले सहमतिको लागि थप भएको समयलाई निरन्तरता दिंदै आज पुनः थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल माघ १ गते सोमबारका दिन सम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
आज्ञाले,
(हरिकुमार श्रेष्ठ)
प्रवक्ता