निर्माणाधिन माथिल्लो त्रिशुली तेस्रो ए को क्षमता अभिबृद्धि गर्ने सरकारी निर्णय फिर्ताको माग गर्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् ।
विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुको पाँच वटा संगठनले बिहीबार पत्रकार सम्मेलन गरेर एक महिनालामो आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा पुस २६ देखि माघ ४ गतेसम्म क्षमता बृद्धिको निर्णय विरुद्ध प्रचार प्रसार र त्यस निर्णयमा संलग्नहरुको भण्डाफोर गर्ने, माघ ४ देखि ११ गतेसम्म कालो पट्टी बाध्ने र निर्णयको विरुद्धमा खुल्ला हस्ताक्षर अभियान सञ्चालन गर्ने, माघ ११ देखि १८ गतेसम्म प्रधानकार्यालयमा एक घण्टा कलम बन्द गर्ने र माघ १८ देखि २५ गतेसम्म विद्युत गृह, सबस्टेशन, काउण्टर, नोलाइट र इमर्जेन्सी बाहेक मुलुक भरीका कार्यालयहरुमा दुई घण्टा कामकाज ठप्प पार्ने लगायतका रहेका छन् ।
लागत, निर्माण समय नबढ्ने गरी ईपीसी मोडलबाट निर्माणको लागि चाईना गजुवा गु्रप कम्पनी लिमिटेडसँग भएको सम्झौता अनुसार १५ महिना भित्र निर्माण सम्पन्न हुनेमा ईपीसी मोडलको अन्त्य र विद्युत प्राधिकरणलाई डुवाउने खेल अन्र्तगत क्षमता बृद्धिको निर्णय भएको भन्दै यस्तो योजना कुनै पनि हालतमा सफल हुन नदिने पत्रकार सम्मेलनमा चेतावनी दिईएको थियो ।
राष्ट्रिय कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरणका महासचिव दिपरमण अधिकारीले हिउँद याममा बढी विद्युत आपूर्ति नहुने र आयोजनालाई दुई वर्ष पछि धकेलेर लोडसेडि्रको मारलाई अझै बढाउने निर्णय नमान्ने बताउनु भयो । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरणका कार्यबाहक अध्यक्ष खगेन्द्र शाहीले कमिसनको चलखेलमा विद्युत प्राधिकरणको चार अर्ब रुपैयालाई बालुवामा हालेर प्राधिकरणलाई धरासयी बनाउने षडयन्त्र भईरहेको भन्दै यसका विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो ।