डेकेन्द्रको मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने चेतावनी

नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कानुनी कारबाही गर्न मा सरकारले अवरोध गरेमा मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताउनुभयो ।
माइतीघर मण्डलामा प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष गाउँलेले सरकारले पहरोसँग कुहिनो ठोक्काउने प्रयास गरेको बताउनु भयो । प्रधानमन्त्री डा बाबुराम भट्टराईका अभिव्यक्तिका कारण मुद्दा अदालतमा पुग्न ढिलाइ भएको उहाँको दाबी थियो ।
आफूहरु प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै पनि नझुक्ने जनाउँदै गाउँलेले पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा सो मुद्दालाई लैजाने तयारीमा रहेको बताउनुभयो । उहाँले पत्रकार कृष्णसेन इच्छुकदेखि थापासम्मका हत्यामा संलग्नलाई कारबाही हुनुपर्नेमा बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले मुखमा कालोपट्टी बाँधेर एक घण्टा प्रदर्शन गरेका थिए । रासस