नवौँपटक थपिएको समयभित्र पनि सहमति नभए राष्ट्रपतिलाई प्रधानमन्त्री चयनको अधिकार दिनेगरी दलहरूबीच सहमति जुटाउन सर्वदलीय बैठकमा प्रस्ताव

नवौँपटक थपिएको समयभित्र पनि सहमति नभए राष्ट्रपतिलाई प्रधानमन्त्री चयनको अधिकार दिनेगरी दलहरूबीच सहमति जुटाउन सर्वदलीय बैठकमा प्रस्ताव प्रस्तुत भएको छ । राजनीतिक निकासबारे छलफल गर्न राष्ट्रपति डा. रामवरण यादवले विघटित संविधानसभामा प्रतिनिधित्व गरेका १९ राजनीतिक दलका नेताको शुक्रबार डाकेको संयुक्त बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यस्तो प्रस्ताव राखेका हुन् ।
नेपालले दलहरूले निकास निकाल्न नसके दलहरूका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार खडा गर्न र उम्मेदवारहरू मध्येबाट प्रधानमन्त्री छनोट गर्ने अधिकार राष्ट्रपतिलाई दिन प्रस्ताव गरेका थिए । बिहीबार प्रमुख चार राजनीतिक दलका नेताहरूबीच पनि यस विषयमा कुरा भएको जानकारी दिँदै सहमतीय सरकार गठनको चालु प्रक्रिया असफल भए राष्ट्रपतिले नै प्रधानमन्त्री छान्नेगरी विकल्प प्रस्तुत गर्न दलहरू तयार हुनुपर्ने उनले बताएका थिए ।