-कृष्ण खनाल
रुपन्देही उद्योग संघको पदाधिकारी टोलीले सोमबार भारतीय राजदुत जयन्त प्रसाद सिंहसँग भेटघाट गरेको छ । टोलीले नेपाल(भारत लुम्बिनी मार्टको पूर्व सन्ध्यामा लुम्बिनी आउनु भएका राजदुतसँग होटल कर्साईमा भेटघाट गरेको हो ।
भेटघाटका क्रममा संघका उपाध्यक्ष तेज कुमार पाठकले संघका गतिविधिहरु, जिल्ला एवं राज्यको औद्योगिक अवस्था, भन्सारमा रहेका समस्याहरुबारे राजदुतलाई जानकारी गराएका थिए ।
अध्यक्ष पाठकले संघले अगाडी सारेका दर्ीघकालीन योजनाहरु सम्बन्धमा पनि राजदुतलाई जानकारी गराएका थिए । संघले अगाडि सारेका मुटु अस्पताल स्थापना, औद्योगिक क्षेत्र स्थापना शव वाहन संचालन लगायतका योजनामा भएका प्रगतिहरु र भावी योजना सम्बन्धमा पनि टोलीले जानकारी गराएका हुन ।
संघको योजनाहरु सम्बन्धमा भारतीय राजदुत जयन्त प्रसाद सिंहले चासो दिदै आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
टोलीले सोमवार नै भारतीय पर्यटन मन्त्रालयका सचिव स्तरका पदाधिकारीसँग समेत भेटघाट गरेको छ । टोलीमा संघका निवर्तमान अध्यक्ष एजाज आलम, प्रथम उपाध्यक्ष वोनिन पिया, महासचिव गणेशप्रसाद अधिकारी र प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीको सहभागिता रहेको थियो ।
भारतीय दुतावास, पर्यटन मन्त्रालय, नेपाल उद्योग परिसंघ र भारतीय उद्योग वाणिज्य महासंघको आयोजनामा यही माघ ३ र ४ गते लुम्बिनीमा नेपाल भारत लुम्बिनी मार्ट हुँदैछ भने स्थानीय व्यवस्थापनको जिम्मा रुपन्देही उद्योग संघले लिएको छ ।
मार्टमा नेपालका पर्यटन मन्त्री, सचिव तथा विभिन्न पदाधिकारीहरु तथा भारतीय राजदुत, सचिवहरु र उच्च पदाधिकारीहरुको सहभागिता रहेको संघले जनाएको छ । उक्त मार्टले नेपाल र भारतबीचको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।