प्रधानमन्त्री डा बाबुराम भट्टराईले दुबईको अल अबिर सेन्ट्रल जेलमा मृत्युदण्डको सजाय भोगिरहेका अमरबहादुर बमको जीवन बचाइछाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल विश्व सहयोग सङ्घ, नेपाल च्याप्टर -एनएजिसी)द्वारा बुझाइएको ज्ञापनपत्र बुझ्दै भट्टराईले आफू र नेपाल सरकारका तर्फबाट कुटनीतिक पहल गरी बमलाई जुनसुकै हालतमा पनि बचाइछाड्ने प्रतिबद्धता जनाउनुभएको हो । यसअघि सरकारले अमरलाई बचाउने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म त्यो व्यवहारमा कार्यान्वयन नभएकाले पुनः एनएजिसीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संस्थाका केन्द्रीय अध्यक्ष मणि नेपाली पनेरुले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा बमको ज्यान बचाउन तथा दुबईका अन्य मुद्दालाई समेत सम्बोधन गर्ने गरी चाँडै दुबईको भ्रमण मिलाउन आग्रह गरिएको, मलेसियामा मृत्युदण्डको सजाय पाएका नुवाकोटका हरिबहादुर घलेको जीवन रक्षा गर्नुपर्ने माग अघि सारिएको छ । त्यस्तै ज्ञापनपत्रमा राष्ट्रियता र विदेशी लगानीजस्ता मुद्दामा चनाखो हुनुपर्ने, नेपाल र विदेशमा रहेका म्यानपावर कम्पनीले नेपाली कामदारप्रति नाजायज फाइदा उठाउने, शोषण गर्ने भएकाले त्यसलाई गम्भीररुपमा लिइनुपर्ने विषयसमेत समेटिएको एनएजिसीका केन्द्रीय अध्यक्ष पनेरुले बताउनुभयो ।
उहाँका अनुसार एनएजिसीले विदेशमा नेपालीहरूले झेल्नुपरेका कठिनाइलाई समाधान गर्न सम्बन्धित विभागलगायतका निकायबाट पहल हुनुपर्ने, मलेसियामा रहेको नेपाली दूतावासलाई व्यवस्थित गर्न आग्रह गरिएको छ । एनएजिसीले ज्ञापनपत्र एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँगे्रसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र संयुक्त मधेशी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारलाई बुझाउने कार्यक्रम रहेको जनाएको छ । रासस