हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि पाल्पाको रामपुरमा कर्फ्यु

स्थानीय २७ वर्षीया सोनु श्रेष्ठको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले रामपुरमा कर्फ्यु जारी गरेको छ ।
अपराहृन ३ बजेबाट भोलि सोमबार बिहीन ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्यामा संलग्न भनिएका उनको श्रीमन ओमबहादुर श्रेष्ठलाई पक्राउ गरी छाडेको भन्दै प्रदर्शनमा उत्रिएका सयौं महिलाहरुले रामपुर प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय परिसरमा रहेकेा प्रतिक्षालयमा आगजनी गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोली हानेको थियो । तर, आक्रोसित महिलाहरुले ढुंगामुढा गरेपछि प्रहरी पछि हटेको थियो ।
डेढ महिनादेखि वेपत्ता सोनुको शव शनिबार दिउँसो कालीगण्डकीको किनारमा बोरामा बेरेको अवस्थामा भेटिएको थियो । लगतै हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए । प्रहरी कार्यालय अगाडी नाराबाजी गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा १० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।