महिला प्रकरण :पाल्पा रामपुरमा लागेको कर्फ्यु खुलाउन पाँच बुँदे सहमति – कर्फ्यु हट्यौ

स्थानीय बासिन्दा, आफन्त, पीडित र प्रहरी प्रशासनबीच सोमबार बिहानैदेखि भएको बार्ताबाट ५ बुँदे सहमति भएको छ ।
सहमति अनुसार आइतबार दिउँसो ३ बजेदेखि लगाइएको कर्फ्यु सोमबार बेलुकीदेखि सामान्य बनाउने, घटनाको छानबिन गरी ५ दिनभित्र प्रारम्भिक जानकारी गराउने छ । अहिलेसम्म भएका घटनाको बारेमा जानकारी गराउँदै आइतबार भएको आन्दोलनका क्रममा घाइतेको उपचार गर्ने सहमति भएको छ । कर्फ्यु खुलेपछि मृतक सोनु श्रेष्ठको शवलाई सोमबारै अन्त्यष्टि गर्ने समेत सहमति भएको छ ।
वार्तामा महिला संजाल, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, मानवअधिकारवादीको सहभागिता थियो ।  घटनाको छानबिन गर्न पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक मनोज न्यौपानेको संयोजकत्वमा, पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मी र भैरहवाबा प्रहरी निरीक्षक राजु पाण्डे सदस्य रहेको अनुसन्धान तथा छानबिन समिति गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी गराए ।
महिलाहरुले भने रामपुरको बेझाड बजारदेखि ४ किलोमिटर टाढाको बिजयपुर बजार, किसानबारी बजारमा प्रहरी निरीक्षक चुराबहादुर कार्कीलाई सरुवा, महिला हिंसा बन्द हुनुपर्ने माग गर्दै सोमबार पनि प्रदर्शन गरेका छन् । प्रदर्शनपछि आयोजित कोणासभामा बोल्ने बक्ताहरुले महिला हिंसाको अन्त्यको माग गरे । उनीहरुले सोनु श्रेष्ठको हत्या श्रीमान् ओमबहादुरले नै गरेकाले उसलाई कारबाहि हुनुपर्ने माग गरे ।
डेढ महिनादेखि वेपत्ता युवती कालीगण्डकी किनारमा मृत फेला परेपछि दोषीमाथि कारबाही माग राख्दै निस्केको जुलुस नियन्त्रण गर्न प्रशासनले नसकेपछि पाल्पाको रामपुर क्षेत्रमा जारी गरेको अनिश्चितकालीलन कर्फ्यु आदेशपछि स्थिति सामान्य बन्दै गएको छ ।
रामपुर, १ की २७ बषिर्या सोनु श्रेष्ठ (खनाल) को शव शनिबार दिउसो कालीगण्डकी नदीको किनारमा बोराले बेरेको अवस्थामा भेटिएपछि हत्यारालाई कारबाहीको माग गर्दै स्थानीय महिलाले आइतबार प्रहरी कार्यालयमा तोडफोड गरेपछि प्रशासनले दिउँसो ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
आक्रोसित रामपुरबासी दोषीमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय परिसरमै आगजनी र तोडफोडमा उत्रेका थिए ।
कर्फ्यु तोडेको आरोपमा प्रहरीले चलाएको गोली लागेर रामपुर, १ गैटारका २० बषिर्य तारा श्रेष्ठ घाइते भएका छन् । उनको रामपुरकै रिभरभ्याली अस्पतालमा उपचार भैरहेको छ । रामपुरमा आइतबार बिहानैदेखि बढेको भीडले हत्यारालाई कारबाही प्रक्रिया अगाडी बढाउन आनाकानी भएको भन्दै प्रहरी कार्यालय घेराउ गरेका थिए ।
आक्रोसित भिडले प्रहरी कार्यालय परिसरमा रहेको प्रतिक्षालय जलाएका छन् । प्रहृरीले २० राउण्ड भन्दा बढी अश्रुग्याँस र ६० राउण्ड भन्दा बढी रवरको गोली साथै हवाई फायर गरेको छ । भिड नियन्त्रणमा लिन नसकेपछि कर्फ्यु आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । प्रहरीलाई थप वल प्रदान गर्न स्याङ्जा, पोखरा र बुटवलबाट प्रहरी झिकाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । उता, नेपाली कांग्रेस रामपुर गाउ समितिले जिल्ला प्रशासनले माइकिङ र अन्य केही सूचना जारी नगरी कर्फ्यु आदेश जारी गरेकोमा जिल्ला प्रशासनको बिरोध गरेको छ ।
शनिबार रातभर प्रहरी कार्यालयअघि नारा जुलुस गर्दैगर्दा भएको झडपमा प्रहरी र प्रदर्शनकारी गरी २२ जना बढी घाइते भएका छन् । आक्रोशित स्थानीयले ढुंगा प्रहार गर्दा इलाका प्रहरी कार्यालय रामपुरको झ्यालका सिसा फुटेका छन् । प्रहरीले भीडलाई सामान्य गराउन लाठी चार्ज गरेपछि थप आक्रोश बढेको थियो । डेढ महिनाअघि बेपत्ता सोनुको खोजी कार्य नगरेको र हत्यामा संलग्न उनका श्रीमान ओमबहादुर श्रेष्ठलाई प्रहरीले पक्रेर पुनः छाडेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
शनिवार राती र आइतवार दिनभर रामपुरको चोक र गल्लीबाट सयौ महिला, पुरुष स्वःस्फूर्त नाराजुलुसमा उत्रेका छन् । सोनुका श्रीमान् ओमबहादुरलाई स्थानीयले पुन छानविन गर्नुपर्ने भन्दै पक्रेर प्रहरीलाई बुझाएका छन् ।