व्यवस्थापिका संसद विघटन भएको झण्डै ७ महिना पछि संसदको नाममा अन्तराष्ट्रिय सम्मेलन

व्यवस्थापिका संसद विघटन भएको झण्डै ७ महिना पछि संसदको नाममा अन्तराष्ट्रिय सम्मेलन गरिएको छ ।
माघ १ देखि ५ गतेसम्म वातावरण र विकासका बारेमा एशिया प्रसान्त सांसद सम्मेलन काठमाडौंको एउटा होटलमा गरिएको हो ।
यसको आयोजना सभासद्को हैसियतमा सम्मेलनकी महासचिव एवं कांग्रेस नेतृ डिना उपाध्याय महालक्ष्मीले गर्नुभएको थियो भने सहआयोजना विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले गरेको थियो ।
श्रोतका अनुसार अहिले नेपालमा नगरेर अरु नै मुलुकमा गर्ने र पछि नेपालमा गनुपर्ने विकल्प उठे पनि आयोजकको अडानका कारण सम्मेलन गरिएको थियो । तर सम्मेलनमा संसद सचिवालय र निवर्तमान सभामुखको उपस्थित थिएनन् ।
आयोजक डिना उपाध्यायले सम्मेलनमा नेपालका २० जना निवर्तमान सभासद र विभिन्न १५ देशका ५८ जनाको सहभागित रहेको जानकारी दिनुभयो । उहाँले २०/२५ लाख रुपैयाँ खर्च भएको र विभिन्न संघ संस्थासँग मागेर काम चलाइएको बताउनुभयो ।
तर श्रोतका अनुसार युएनडिपीले आर्थिक सहयोग गरेको थियो । वातावरण मन्त्री केशवमान शाक्यले भने संसद नभएकाले आफूहरुले प्राविधिक सहयोग मात्र गरेको बताउनुभयो ।