प्रहरीकै स्कर्टिङमा एमाओवादीको दैलेख जिल्ला सम्मेलनमा झडप हुने देखिएपछि माओवादीले सुर्खेतबाट ६ सय वाईसीएल कार्यकर्ता दैलेख लगेको खुलासा

– मोतीलाल पौडेल
एमाओवादीको दैलेख जिल्ला सम्मेलनमा झडप हुने देखिएपछि माओवादीले सुर्खेतबाट ६ सय वाईसीएल कार्यकर्ता पुर्‍याएको खुलेको छ । त्यो पनि प्रहरीकै स्कर्टिङमा ।
पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान रोक्न प्रधानमन्त्रीले आदेश दिएको विरोधमा विपक्षी दलहरूले विरोध गर्ने बताएपछि वाईसीएल लगिएको थियो । दैलेख जाने बाटोमा रूखहरू काटेर बाटो अवरुद्ध पारिएको थियो । प्रहरीले अवरोध हटाउँदै २२ ट्रक वाईसीएलसहितका माओवादी कार्यकर्तालाई दैलेख पुर्‍याएको थियो । वाईसीएलको उपस्थितिपछि स्थिति तनावग्रस्त भएको थियो ।
स्रोतका अनुसार मध्यपश्चिम प्रहरीका उच्च अधिकृतले नै सुर्खेतबाट २२ वटा ट्रकको स्कर्टिङ गरेर माओवादी कार्यकर्तालाई दैलेख पुर्‍याएका हुन् । सुनियोजित रूपमा वाईसीएल कार्यकर्तालाई दैलेख पुर्‍याएर झडपमा उतारेको विपक्षी आरोप छ ।
पत्रकार डेकेन्द्रराज थापाको हत्याको अनुसन्धानमा माथिको आदेश पालना नगरेको आरोप लगाइरहेको बेला प्रधानमन्त्रीको शान्ति सुरक्षा गर्न नसकेको भन्दै दैलेखका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई बुधबारको मध्यरातमा सरुवा गरिएको छ । पत्रकार थापाकी पत्नी लक्ष्मी थापाले हत्यामा संलग्न भएको आरोपमा किटानी जाहेरी दिएको लामो समयसम्म अनुसन्धान हुन नसकेको र तत्कालीन प्रहरी प्रमुखले छानबिन सुरु नगरेको अवस्थामा डीएसपी चौधरी काजमा खटिएलगत्तै अनुसन्धान प्रक्रिया सुरु गरिएको थियो ।
सबैलाई प्रधानमन्त्री जिल्ला आउूदासमेत शान्ति सुरक्षा दिन नसकेको आरोप लगाएर सरुवा गरिएको हो । शान्ति सुरक्षा गर्न नसकेको आरोप खण्डन गर्दै एक प्रहरी अधिकृतले आक्रोश पोखे, ‘क्षेत्रीय प्रहरी प्रमुख नै वाईसीएललाई स्कर्टिङ गरेर अशान्ति मच्चाउने अनि हामीलाई सुरक्षा दिन नसक्ने बहानामा कारबाही गर्ने ?’ क्षेत्रीय प्रशासक त्रितालले भने बाहिरबाट वाईसीएल कार्यकर्ता गएको तर प्रहरीले स्कर्टिङ गरेजस्तो देखिए पनि त्यस्तो नभएको दाबी गरे । उनले भने, ‘रूख ढालेर अवरुद्ध सडक प्रहरीले हटाएको मात्र हो, स्कर्टिङ गरेको होइन ।’
प्रधानमन्त्री रहँदा रातभर बिजुली
दैनिक १४ घन्टा नियमित लोडसेडिङ र थप आन्तरिक लोडसेडिङ हुने सुर्खेतमा बुधबार रातभर लोडसेडिङ भएन । बुधबार साूझको तालिका अनुसार ८ बजेदेखि राति २ बजेसम्म भए पनि प्रधानमन्त्री हिलेखालीस्थित शनि भिलेज रिसोर्टमा बास बसेपछि वीरेन्द्रनगर बजारमा सामान्य विद्युत् अवरुद्ध भए पनि अन्य स्थानमा लोडसेडिङ भएन । प्रधानमन्त्री फिर्ता भएपछि लोडसेडिङको अवस्था उस्तै भोग्नुर्‍यो । प्रधानमन्त्री सुर्खेत बसेका कारण केन्द्रको आदेशमा लोडसेडिङ नगरिएको नेपाल विद्युत् प्राधिकरण सुर्खेतका प्रमुख सुरेशप्रसाद सिंहले बताएका छन् ।