काठमाडौं, माघ १२ । मुम्बई हमलाका योजनाकार डेविड हेडलीलाई अमेरिकी अदालतले ३५ बर्षको जेल सजायँ सुनाएको छ । आतंकबादी संगठन लश्कर ए तोइबाका संदिग्ध डेबिड हेडलीको अन्तिम सुनुवाई कडा सुरक्षाकाबीच शिकागोको उच्च अदालतमा भएको थियो ।
सन् २००८ मा भएको मुम्बई आक्रमणका मुख्य योजनाकार भनिएका हेडली सन् २००९ मा पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनले आफूमाथि लागेको आरोप सहजै स्वीकारेका थिए ।
उनले मुम्बईमा दुई बर्ष सम्म रही हमलाको योजना बनाएको पनि स्वीकारेका छन् । पाकिस्तानी मूलका अमेरिकी नागरिक हेडलीले मुम्बई हमलाका क्रममा सिकागोका ब्यापारी तहब्बुर रानालाई सहयोगीका रुपमा प्रयोग गरेको पनि खुलासा गरेका छन् ।
सन् २००८ को नोभेम्बर महिनामा भएको मुम्बई हमलामा १ सय ६६ जनाको मृत्यु भएको थियो । यसअघि सोही हमलाका आरोपी तहब्बुर रानालाई १४ बर्षको जेल सजायँ तोकिसकेको छ । सो घटनामा संलग्न पाकिस्तानी नागरिक अजमल कसाबलाई फाँसी दिइसकिएको छ ।
– Agencies