अमेरिकाले अबदेखि आफ्ना महिला सैनिकलाई पनि युद्धमोर्चामा पठाउने भएको छ । अहिलेसम्म रोक लगाइएपनि अमेरिकी रक्षा मन्त्री लियोन पेनेटाले महिला सैनिकलाई युद्धमोर्चामा पठाउने निर्णय लिएपछि यो बाटो खुलेको हो ।
यो निर्णयसँगै हजारौं अमेरिकी महिलालाई मोर्चामा जान र विशेष कमाण्डोमा नियुक्ति पाउन ढोका खेलेको छ । सन् १९९४ मा बनेको नियमका कारण महिलाहरु युद्धमोर्चामा जानबाट बञ्चित रहेका थिए । यसको औपचारिक घोषणा भने विहीवार गरिने बताइएको छ ।
अब नेवी सील्स र डेल्टा फोर्स जस्ता विशेष टुकडीमा महिलाका लागि दुई लाख ३० हजार पद खुला हुने बताइएको छ । सरकारी निर्णयको सीनेटको सशस्त्र समितिले पनि स्वागत गरेको छ । युद्धमोर्चाको नेतृत्व गर्न लगाइएको प्रतिबन्धविरुद्ध महिलाहरुको समूहले असंवैधानिक भन्दै हालेको मुद्दामा अमेरिकी रक्षा मन्त्रालयले यस्तो फैसला सुनाएको हो ।
इराक, अफगान युद्धमा अमेरिकी महिला सैनिक चिकित्साकर्मी, सैन्य पुलिस तथा सूराकीका रुपमा मात्रै कार्यरत थिए । यस लडाईका क्रममा सन् २०१२ मा मात्र एक सय ३० जना महिला सैनिक मारिनुका साथै आठ सय जना घाइते भएका थिए । अमेरिकाको १४ लाख सेनामा महिलाको संख्या १४ प्रतिशत रहेको छ ।
– Agencies