बेलायतका दुईसंस्थाद्धारा नेपाल सरकारलाई करिब रु दुई अर्ब ३२ लाख अनुदान सहयोग

काठमाडौं  – कृषिजन्य उद्योगलाई बजारमा पहुँच गराई प्रवर्द्धन गर्नका लागि बेलायतको दुईसंस्था डिएफआइडी र एडमस्मिथ इन्टरनेसनलले नेपाल सरकारलाई करिब रु दुई अर्ब ३२ लाख अनुदान सहयोग गर्ने भएको छ।

 

उद्योगमन्त्री अनिलकुमार झाको उपस्थितिमा सो सहयोगसम्बन्धी उद्योग मन्त्रालयमा आज भएको एक सम्झौतापत्रमा मन्त्रालयका सहसचिव यामकुमारी खतिवडा र डिएफआइडी नेपालका प्रमुख डोमिनिक ओ-निल र एडमस्मिथ इन्टरनेसनलका परियोजना निर्देशक ह्रयारी केन्डेलले हस्ताक्षर गरे ।

पाँच वर्षका लागि गरिएको सो सम्झौतामा नेपाल बजार विकास परियोजनाद्वारा ग्रामीणक्षेत्रका तीन लाख कृषि उद्यमीको क्षमता वृद्धि गरी रोजगारी अभिवृद्धि र गरिबी न्यूनीकरण गर्ने उद्देश्य रहेको छ।


यस वर्ष तराई र पहाडका २२ जिल्लाबाट परियोजना प्रारम्भ गरिने र क्रमशः त्यसको प्रभावकारिता हेरी देशका सबै जिल्लामा कार्यक्रम लागु गरिने सहसचिव खतिवडाले बताए ।


सो परियोजनालाई जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट समन्वय गरिने बताइएको छ।


कार्यक्रममा उद्योगमन्त्री झाले देशका कृषक र साना उद्यमीलाई बढी लाभान्वित बनाउन परियोजनालाई प्रभावकारीरुपमा सञ्चालन गर्न सहयोग गरिने बताउँदै नेपालको विकास प्रयासमा बेलायतले गरेको सहयोगप्रति आभार व्यक्त गरे । रासस