इजिप्टमा होस्नी मुबारकको शासन पतन भएको दोस्रो वर्षगाँठमा अवसर पारेर विपक्षीले गरेको प्रदर्शनमा झडप हुँदा सात जनाको मृत्यु

इजिप्टमा होस्नी मुबारकको शासन पतन भएको दोस्रो वर्षगाँठमा अवसर पारेर विपक्षीले गरेको प्रदर्शनमा झडप हुँदा सात जनाको मृत्यु भएपछि स्वेज शहरमा सेना परिचालन गरिएको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपमा स्वेज शहरमा छ जना र इस्माइलिया शहरमा एक जना मारिएका हुन् ।


राजधानी कायरोको ताहरिर स्वायर लगायतका शहरमा पनि प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा ४ सय ५० जना भन्दा बढी प्रदर्शनकारी घाईते भएका छन् । प्रदर्शनकारीले केही शहरका सरकारी भवनमा आगजनी समेत गरेको खबर छ ।


यता, राष्ट्रपति मोहम्मद मुर्सीले भने सबैलाई शान्त रहन अपील गर्दै विपक्षीहरुलाई वार्ताका लागि आह्वान गरेका छन् । आलोचकहरुले दुई वर्ष अगाडिको क्रान्तिलाई मुर्सीले धोका दिएको आरोप लगाएका छन् भने केही प्रदर्शनकारी उनले सत्ता नछाडे सम्म घर नफर्कने अडानमा रहेको जनाइएको छ ।


इजिप्टमा राष्ट्रपति मुर्सीले जनभावनलाई लत्याएर शासन सञ्चालन गरेको, मुलुकलाइ आर्थिक संकटमा धकेलेको जस्ता आरोप लगाउदै विपक्षीहरु उनीदेखि रुष्ट छन् ।

 

– एजेन्सी