एकीकृत माओवादी र वर्तमान सत्ता गठबन्धन वार्ताबाट सहमतिमा नआउने ठहर गर्दै प्रतिपक्षी दलहरुद्धारा सशक्त आन्दोलनबाटै सत्ता ढाल्ने निष्कर्ष

शंकरप्रसाद खनाल

 

काठमाडौं  । एकीकृत माओवादी र वर्तमान सत्ता गठबन्धन वार्ताबाट सहमतिमा नआउने ठहर गर्दै प्रतिपक्षी दलहरुले सशक्त आन्दोलनबाटै सत्ता ढाल्ने निष्कर्ष निकालेका छन् ।

 

कांग्रेस-एमाले लगायतका ९ वटा विपक्षी दलहरुको आज बसेको वैठकले आन्दोलनलाई सशक्त पार्ने निर्णय गरेको हो । उनीहरुले भोलि शहीद दिवसको दिन राजधानीमा विरोध प्रदर्शन गर्ने र माघ १९ गतेदेखि २६ गतेसम्म हरेक दिन देशका प्रमुख शहरहरुमा प्रदर्शन गर्ने भएका छन् ।

विपक्षी दलहरुले भोलि काठमाडौंमा आयोजना गरिने विरोध प्रदर्शनलाई सफल पार्न सबै तयारी पूरा भएको पनि जनाएका छन् । भोलि विपक्षीको अपरान्ह १२ बजे भृकुटीमण्डपबाट विरोध प्रदर्शन शुरु भई शहीदगेटमा सभामा परिणत हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
 
विपक्षी दलहरुले माघ ६ देखि दैलेखबाट सरकार विरुद्ध आन्दोलन शुरु गरेका हुन् ।