सत्ता पक्ष र विपक्षी दलहरू सहमतिमा निकास निकाल्नुको साटो मुठभेडमा उत्रिन लागेकोमा राष्ट्रपति चिन्तित

सत्ता पक्ष र विपक्षी दलहरू सहमतिमा निकास निकाल्नुको साटो मुठभेडमा उत्रिन थालेकोमा राष्ट्रपति डा. रामवरण यादवले चिन्ता व्यक्त गरेका छन् । म्याद नतोकी सहमतिको सरकार गठन आह्वानलाई निरन्तरता दिएका राष्ट्रपति डा. यादवले मुठभेडको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै वार्ताबाट निकास निकाल्न राजनीतिक दलहरूलाई दबाब दिएका छन् ।
नौपटक म्याद दिँदा पनि सहमतिमा प्रधानमन्त्री चयन गर्न नसकेका एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरूलाई बुधबार शीतलनिवासमा बोलाएर निकासका लागि वार्ता थाल्न राष्ट्रपतिले दबाब दिएका हुन् । २ माघपछि दलहरूबीच सहमतिका लागि औपचारिक छलफल हुन सकेको छैन । बरु विपक्ष सरकारविरुद्ध आन्दोलनमा र सत्ता पक्ष जनपरिचालन भन्दै सडकमा उत्रिएको बेला बुधबार राष्ट्रपतिले दलहरूबीच अविश्वास र मुठभेड बढ्दा सहमति टाढिने भन्दै तत्काल सार्थक वार्ता थाल्न दबाब दिएका थिए ।
राष्ट्रपतिले सहमतिको बाटो पहिल्याउन दबाब दिए पनि दलहरू भने आरोप प्रत्यारोपमै अल्झिएका छन् । राष्ट्रपतिले तत्काल निकास निकाल्न आग्रह गरेको जानकारी दिँदै एमाले अध्यक्ष झलनाथ खनालले सत्ता पक्षका कारण देश मुडभेडतर्फ धकेलिएको बताए । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफूहरूले सहमति चाहे पनि एमाओवादी नै तयार नभएको उल्लेख गर्दै संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिले नै उचित निकास दिनुपर्ने बताए ।