एमाओवादी महाधिवेशनको कार्यतालिका प्रभावित – उपाध्यक्ष र सचिवको संख्या थपिने

एकीकृत नेकपा माओवादीले सार्वजनिक गरेको कार्यतालिकामा फेरबदल आउने संकेत देखिएको छ । आइतबार सार्वजनिक गरिएको तालिका अनुसार माघ २६ गते महाधिवेशनको समापन गरिने भनिए पनि आइतबारबेलुकासम्म बन्दशत्र शुरु हुन नसकेपछि तालिका प्रभावित हुने संकेत देखिएको हो ।
सावर्जनिक गरिएको तालिका अनुसार २१ गते राजनीतिक दस्तावेज प्रस्तुत गर्ने, २२ गते ६० वटा समूह विभाजन गरी समूहको नेता तोक्ने बताइएको छ । २३ र २४ गते गु्रपमा छलफल गरी लिडरहरुले निचोड पेश गर्ने त्यसपछि राजनीतिक प्रतिवेदन पारित गर्ने कार्यक्रम तय गरिएको नेताहरुले जानकारी दिएका छन् ।
गु्रप लिडरले रिपोर्टिंग सकेपछि २४ गते बेलुका विधान, प्रतिवेदन पारित गर्ने र केन्द्रीय आयोजक समितिको बैठक बसी नयाँ केन्द्रीय समितिको प्यानल तयार पार्ने कार्यक्रम छ । अध्यक्ष मण्डलले २५ गते विहान हलमा प्यानल प्रस्तुत गरेपछि महाधिवेशन आयोजक समिति विघटनको घोषणा गरिने छ । सोही दिन बेलुकासम्म केन्द्रीय समिति गठन गरी २६ गते समापन गरिने योजना रहेको नेताले बताएका छन् ।