एमाओवादीका महिला नेतृहरुले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने दबाव नेतृत्वलाई दिएका छन् । यसअघि उनीहरुले महाधिवेशन प्रतिनिधिमा ३३ प्रतिशत महिला चयन गर्नुपर्ने माग गरेका थिए ।
केन्द्रीय समितिमा ३३ प्रतिशत बिधानमा राख्ने प्रावधान राख्न महिला नेतृहरुले दबाव दिए पनि एमाओवादी नेतृत्वले अस्वीकार गरेको छ । नेतृत्वले मौखिक रुपमा ३३ प्रतिशतभन्दा बढी राख्ने आश्वासन दिएको छ । नेतृ हिसिला यमिको नेतृत्वमा उनीहरुले ३३ प्रतिशत आरक्षणको माग गरेका हुन् । महाधिवेशन आयोजक समिति सदस्य बलावती शर्माले माग पुरा गराउन माग पुरा गराउन कायम राखेको बताइन् । ‘केन्द्रीय समितिलगायत सबै क्षेत्रमा ३३ प्रतिशत महिला हुनुपर्छ भन्ने हाम्रो माग हो’ उनले भनिन्, ‘हाम्रो माग पुरा नभए हामी महाधिवेशन बन्दसत्रमा दबाव सृजना गछौ ।’
आफ्नो माग पुरा नभए उनीहरुले बन्दसत्र बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् । अर्की महिला नेतृ कल्पना धमलाले पनि केन्द्रीय समितिलगायत अन्य पार्टीका अन्य निकायमा सहभागिताको लागि दबाव दिएको बताइन् ।
एमाओवादीले महिला सहगिताको कुरा गरे पनि ब्यहारमा उतारेको उल्लेख गर्दै महाधिवेशनको मौकामा ३३ सहभागिताको लागि दबाव दिएका हुन् । यमिको नेतृत्वमा यसअघि महाधिवेशन आयोजक समिति बैठकमा उनीहरुले मागपत्र समेत बुझाएका थिए ।
हाल महाधिवेशनमा करिब ३ हजार १ सय प्रतिनिधिमध्ये करिब ७ सय मात्र महिला प्रतिनिधि रहेका छन् । यो करिब २२ प्रतिशत मात्र हुन्छ । पार्टी केन्द्रले ३३ प्रतिशत महिला प्रतिनिधि राख्न तल्ला समितिलाई पत्राचार गर्न निर्देशन गरे पनि आवश्यक सदस्य नभएका कारण कम भएको उसले जनाएको छ । ‘५ जनामा १ जना महिला प्रतिनिधि चयन गर्न निर्देशन गरिएको थियो’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘केन्द्रीय समितिमा पनि सकभर धेरै महिला समेट्ने प्रयास हुन्छ ।’
एमाओवादीको २ सय ३१ सदसीय महाधिवेशन आयोतजक समितिमा २९ जना छन् । ‘उचित महिला सहभागिता भएन भने सही अर्थमा समानता हुन सक्दैन’ नेतृ रेणु चन्दले भनिन्, ‘त्यसकारण हामीले जोडदार माग गरेका छौ ।’
महिलाको माग नेतृत्वले मानेमा सबभन्दा माथिल्लो तहमा प्रधानमन्त्री बाबुराम भट्टराई पत्नी हिसिला यमि सबभन्दा माथिल्लो तहमा पुग्ने छन् । उनलाई पार्टीको कोषाध्यक्षसहित केन्द्रीय पदाधिकारी बनाउन दबाव उनीहरुले दिएको एक नेतृले जनाइन् । त्यसै गरी पोलिटब्युरोमा पनि महिला नेतृलाई चयन गर्नुपर्ने दबाव पनि दिएका छन् । बिगतमा सबभन्दा धेरै महिला सहभागिताको कुरा गरे पनि ब्यबहारमा नउतारेको भन्दै महिला नेतृले आवाज उठाउन थालेका हुन् । सशस्त्र युद्धका बेला लडाकूमा ४० प्रतिशत भन्दा बढी महिला सहभागी भएका थिए । शान्ति प्रक्रियामा आइसकेपछि भने महिलालाई उचित स्थान नदिएको नेतृहरुको गुनासो छ ।